नेपालमा टिकटक स्टार रियालिटी शो हुने, सहभागिताका लागि टिकटक एकाउन्ट अनिवार्य-Sutra News

नेपालमा टिकटक स्टार रियालिटी शो हुने, सहभागिताका लागि टिकटक एकाउन्ट अनिवार्य

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

नेपाली युवापुस्तामाझ चर्चित सामाजिक सञ्जाल टिकटकको नामबाट रियालिटी शो आयोजना गरिने भएको छ । टिकटक स्टार रियालिटी शोलाई शिखर नेपाल प्रालिले आयोजना गर्ने भएको हो ।



बुधवार राजधानीस्थित एक होटेलमा पत्रकार सम्मेलन गरेर यसको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसान उपस्थित थिए ।

टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा एकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ भने टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मङ्सिर मसान्तसम्म अडिसन राउण्डमा पेश गर्नुपर्नेछ ।

यसबारे बिस्तृत जानकारी शिखर नेपाल टिकटक स्टारको वेबसाइटमा गराइनेछ ।

उक्त भिडियो विशेष ज्यूरीले छानेपछि टिकटकरलाई शोमा बोलाइने छ । अन्य रियालिटी शो जस्तै यो कार्यक्रम पनि महिनौं लम्बिनेछ ।

उक्त शोका कार्यक्रम निर्माता टेकप्रसाद बास्तोला रहेका छन् भने कार्यक्रम निर्देशक हरि शर्मा रहेका छन् ।

निर्णायक मण्डलमा अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती र नायिका वर्षा शिवाकोटी रहनेछन् ।

कार्यक्रमलाई नाइस टिभीबाट प्रसारण गरिने आयोजक कमिटीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट