वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्याय खरिद बिक्री गरेको आरोप लगाएका छन् ।
नेपाल बार एसोसियसनको प्रांगणमा बोल्दै थापाले जबराले अब गंगाजल छर्केर शुद्ध हुन्छु भन्ने नठान्न चेतावनी दिएका हुन् ।
‘बार एसोसियसनले तपाईंलाई बहिर्गमन गरिसकेको छ, पुलिस र सैनिकको घेरा हालेर अदालत प्रवेश गरेर न्याय खरिदबिक्री गर्ने ? गंगाजल छर्केर म शुद्ध हुन्छु भन्ने नसोच्नुस,’ थापाले भने ।
उनले न्यायका न्यायका पैसाहरू विभिन्न ठाउँमा प्रवाह भैरहेको समेत दाबी गरे ।
‘द्रौपदीको जसरी चीरहरण भएको छ, न्यायालयमा प्रधानन्यायाधीशले पनि न्याय हरण गरिरहेका छन् । पैसाबाट गरिरहेका छन् । तपाईं इजलास गठन गर्नुहोस, मुद्दा हामी दिन्छौं,’ थापाले भने ।
उनले कानून व्यवसायीलाई न्यायको चीरहरण भइरहेको बेला अहिले इजलासमा जानु भनेको समर्थन गर्नु रहेको भन्दै सचेतसमेत गराएका छन् ।
कानून व्यवसायीलाई मात्र नभएर न्यायाधीशहरूलाई पनि थापाले इजलास छोड्न आग्रह गरे । अन्यथा न्यायाधीशविरुद्ध पनि आन्दोलन गरिने थापाको चेतावनी थियो ।
उनले जबरालाई न्यायालयको बन्ध्याकरण गरेकोसमेत आरोप लगाए ।
‘सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम प्रधानन्यायाधीशले गरेका छन् । न्यायको बाटो दिएको छैन । बन्ध्याकरणको औजार लिनुभएको छ, त्यो फ्याँक्नुपर्छ,’ थापाले भने ।