भोलि सार्वजनिक विदा-Sutra News

भोलि सार्वजनिक विदा

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।  मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।



मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । “विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा अझै पनि कायमै रहेको छ”, उहाँले भन्नुभयो, “बराहपोखरीमा लाग्ने मेला धार्मिक भएकाले रोकिएको छैन । स्वास्थ्य सतर्कता अपनाएर मेला लगाउन प्रशासनको तर्फबाट सम्बन्धित निकायलाई आग्रह गरेका छौँ ।”

मेलामा विशेषगरी दिवङ्गत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ ।

समुद्री सतहदेखि करिब एक हजार ३०० मिटर उचाइमा रहेको सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ ।  मेला भर्न छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट