इलाका प्रशासन कार्यालय तुलसीपुर दाङमा नागरिकता बनाउन आउने सेवाग्राहीलाई जनशक्तिको अभावमा फिर्ता पठाइने गरिएको छ ।
जम्मा ४ पालिका र ४० वडा हेर्नुपर्ने तुलसीपुर इलाका प्रशासन कार्यालयले दिनमा ६०/७० भन्दा बढी नागरिकता दिन नसक्दा सेवाग्राहीहरू मर्कामा परेका हुन् ।
प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपी आवश्यक कागजात पेश गरेकै दिन दिने भन्दै नागरिक वडापत्रसमेत राखेको छ ।
वडापत्रमा प्रमाण पूरा भएकै दिन नागरिकता प्राप्त गर्न सकिने भनी लेखिएको भएता पनि कार्यालयले प्रमाण संकलन गरेको भोलिपल्ट मात्र नागरिकता लिन बोलाउछ ।
यसबाट टाढा टाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन् ।
‘म आएको ४ दिन भयो, अहिलेसम्म नयाँ नागरिकता पाएको छैन,’ एक सेवाग्राहीले भने । उनी शुक्रवारदेखि आएर तुलसीपुर बसेका थिए । पहिलो दिन उनलाई प्रमाण पुगेन भनेर पठाइयो । आइतवार पुनः कार्यालय गएका उनलाई सोमवार नागरिकता पाइन्छ भनियो । सोमवार अपराह्नसम्म उनले नागरिकता पाउँछन् कि पाउँदैनन् थाहा छैन ।
कार्यालयले तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका हेर्ने गर्छ । यी पालिकाका ४० वडाका सेवाग्राहीहरू त्यहाँ नागरिकता लगायत अन्य सेवाहरू लिन आउँछन् ।
सूत्रन्यूजले कार्यालयप्रमुख यज्ञबहादुर बुढालाई सेवाग्राहीले भोगेका समस्याको कारण के हो भनेर सोधेका थियौं ।
उनले दरबन्दीको अभावमा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताए । ‘यहाँ सधै भीड हुन्छ, दरबन्दी अभावका कारण हामीले सेवा दिन सकिरहेका छैनौं,’ बुढाले सूत्रन्यूजसँग भने, ‘जम्मा २ जना सुब्बा, एकजना खरदार र एकजना कम्प्युटर अपरेटरको दरबन्दी छ । मुख्य समस्या नै यही हो ।’
बुढाले यसबारे आफूले मन्त्रालयमा पटक-पटक जानकारी गराएको बताए । ‘जति गुनासो गरेपनि मन्त्रालयले दरबन्दी थपिदिएको छैन । कमसेकम नयाँ नागरिकता र पुरानो नागरिकता दुवैलाई फरक फरक ठाउँबाट दिन पाए अलि सहज हुन्थ्यो । अहिले सबै एउटै लाइन लगाउनुपर्ने अवस्था छ ।’
उनले नागरिकता मात्र नभएर अन्य कामहरू पनि गर्नुपर्ने भएकाले थप समय लाग्ने र यसबाट सेवाग्राही मर्कामा पर्ने बताए ।
नागरिकता फाँटका शाखा अधिकृत जनक प्रसाद भण्डारीले दिनमा ६०/७० भन्दा बढी नागरिकता जारी गर्न नसकिने बताए ।
‘हामीले ६०/७० भन्दा बढी नागरिकता दिनै सक्दैनौं,’ भण्डारीले भने, ‘हाम्रो क्षमताभन्दा धेरै सेवाग्राही आउँछन् । ४० वटा वडाबाट २/२ जनाको दरले आए पनि हामीलाई गाह्रो छ ।’