काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेका थिए।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्ति पढेको तर सडकबाट नै त्यसको जवाफ दिने बताएका छन् ।
प्रधानन्यायाधीशका कारण अदालतमा भ्रष्टाचार र विचौलीयाहरुको मात्रा बढेका भन्दै बारले प्रधानन्यायाधीश चोलेन्द्रको राजीनामा माग गर्दै आएको छ ।
त्यस्तै आज सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ।
जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो ।
बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए । सर्वाेच्च गेटबाट चार जना पक्राउ परेका छन् ।