चोलेन्द्रविरुद्ध लागेकामध्ये पाँच न्यायाधीशले फेरे मन-Sutra News

चोलेन्द्रविरुद्ध लागेकामध्ये पाँच न्यायाधीशले फेरे मन

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका न्यायाधीशहरूमा फाटो आएको छ । तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोजकुमार शर्मा र बमकुमार श्रेष्ठले पुनः जबरालाई नै साथ दिने आशय व्यक्त गरेका छन् ।



यसअघि जबराविरुद्ध १८ न्यायाधीश उभिएका थिए भने जबरा एक्लै परेका थिए । ‘विद्रोही पक्ष’लाई साथ नदिने निष्कर्षमा पुगेका ५ न्यायाधीशसँग जबराले यसअघि देखि नै निरन्तर छलफल गरिरहेको स्रोतको दाबी छ ।

‘कहिलेसम्म यो निर्णयबिहीनता सहने ?’ पाँचमध्ये एक न्यायाधीशले भने, ‘अदालतमा पेशी तोक्न गोलाप्रथा लागू गरेर मुद्दा सुनुवाई गर्न फर्कौं भन्ने हाम्रो प्रस्ताव थियो । अन्य साथीहरू त्यसमा सकारात्मक देखिनुभएको छैन । त्यसैले हामी इजलासमा बस्ने निष्कर्षमा पुगेका छौं ।’

यसअघि न्यायाधीशहरूको बैठकमा जबराको राजीनामालाई बटमलाइन मानेर उनले तोकेको इजलास बहिष्कार गर्ने सहमति बनेको थियो ।

जबराविरुद्ध बार एसोसियसनले निरन्तर आन्दोलन गरिरहेको छ । गत शुक्रवारदेखि जबरालाई अदालतमै छिर्न नदिने प्रयासहरू भएका छन् । तर जबरा छुट्टै बाटोबाट अदालत छिरेर इजलास तोक्ने गरेका छन् ।

जबराविरुद्ध इजलास बहिष्कारमै उत्रिएका न्यायाधीशहरूबीच फाटो आएपछि सर्वोच्च अदालतमा देखिएको विवाद कसरी समाधान हुन्छ भन्ने यकिन छैन । राजनीतिक दलहरूसमेत अदालतमा देखिएको अवस्थाका बारे मौन बसेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट