दोहा विमानस्थलमा निर्वस्त्र जाँच गरिएका अस्ट्रेलियाली महिलाद्वारा कतारमाथि मुद्दा-Sutra News

दोहा विमानस्थलमा निर्वस्त्र जाँच गरिएका अस्ट्रेलियाली महिलाद्वारा कतारमाथि मुद्दा

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

दोहा विमानस्थलमा जाँचका लागि विमानबाट ओरालेर वस्त्र फुकाल्न लगाएर सुत्केरी हो कि भनी परीक्षण गरिएका अस्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्।



हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूलाई सन् २०२० को अक्टोबरमा एउटा उडानबाट ओरालेर उनीहरूले हालसालै बच्चा जन्माएको छ कि भनी परीक्षण गरिएको थियो।

उनीहरूले आफ्नो अनुभवलाई राज्य स्वीकृत आक्रमण भनेका थिए र त्यसको सर्वत्र विरोध भएको थियो।

कतारले पछि माफी माग्दै विमानस्थलका एक अधिकारीलाई निलम्बित जेल सजाय दिएको थियो।

तर ती महिलाहरूले त्यसपछि त्यो घटनालाई बेवास्ता गरिएको बताएका छन्।

उनीहरूलाई सशस्त्र सुरक्षाकर्मीले कतार एअरवेजको विमानबाट ‌ओरालेर एम्बुलेन्समा हालेका थिए। एम्बुलेन्समा नर्सहरूले उनीहरूलाई वस्त्र फुकाल्न लगाएर निरीक्षण गरेका थिए।

महिलाहरूले आफूहरूले त्यसो गर्न स्वीकृति नदिएको र किन त्यसो गरिँदै छ भनेर आफूलाई नभनिएको बताएका छन्।

नाम नबताउने एक महिलाले बीबीसीलाई आफूमाथि “सबैभन्दा भयानक शारीरिक परीक्षण” गरिएको बताएकी थिइन्।

“बन्दुक बोकेका धेरै पुरुषमध्ये कुनैले मलाई मार्लान् जस्तो लागेको थियो वा विमानमा रहेका मेरा पतिलाई पनि मार्छन् जस्तो लागेको थियो,” आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा उनले भनिन्।

पाँच मिनेट जतिको परीक्षणपछि ती महिलाहरूलाई पुनः विमानमा चढाइएको थियो।

अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घटनाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट