मुस्ताङमा गएको सुक्खा हिमपहिरो स्वाभाविक कि अस्वाभाविक?-Sutra News

मुस्ताङमा गएको सुक्खा हिमपहिरो स्वाभाविक कि अस्वाभाविक?

मंगलबार, ३० कार्तिक २०७८

मंगलबार, ३० कार्तिक २०७८

आइतवार बिहान मुस्ताङमा गएको हिमपहिरोबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण सङ्कलन भइरहेको अधिकारीहरूले बताएका छन्।



उनीहरूका अनुसार उक्त हिमपहिरोबाट बच्न भागदौडमा परेर घाइते भएकामध्ये केही उपचारपछि घर फर्किएका छन् भने तीन जनालाई जिल्ला बाहिर उपचारका लागि पठाइएको छ।

वर्षा र हिमपात दुवै नभएका र सुक्खा मौसममा गएकाले उक्त हिमपहिरोलाई कतिपयले “अस्वाभाविक” ठानेका छन्।

तर एकजना हिमनदी विज्ञले उक्त घटनालाई “स्वाभाविक र प्राकृतिक” भएको बीबीसीलाई बताए।

के भएको थियो?

आइतवार बिहान ११:४० बजेतिर मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर-२ मा पर्ने भुर्जुङकोट बोक्सी खोलामा करिब साढे ११ बजेतिर अप्रत्याशित रूपमा हिमपहिरो खसेको थियो।

सामाजिक सञ्जालहरूमा प्रेषित भिडिओ सामग्रीहरूमा उक्त पहिरोका कारण नजिकैको गाउँमा भागदौड मच्चिएको देखिन्छ।

सेतो बादलजस्तो र त्यसमा धुलो मिसिएको जस्तो गरी उक्त हिमपहिरो खसेको ती सामग्रीहरूमा देखिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार धौलागिरि हिमशृङ्खलाको याङ्देन खर्कबाट हिमपहिरो खसेको हो।

त्यसका कारण तल पर्ने एउटा विद्यालयमा भागदौडसमेत भएको उनले बताए।

उनले भने, “त्यहाँ शिक्षक र विद्यार्थी गरेर ११ जना घाइते भएकोमा तीन जनालाई उपचारका लागि बाहिर पठाइएको छ। अरू ठिक भएर घर गएका छन्।”

थप क्षतिबारे विवरण सङ्कलन भइरहेको उनको भनाइ छ।

उनले उक्त क्षेत्र पदयात्रा जाने क्षेत्र पनि नपरेको र बस्ती पनि नजिक नभएकाले कम क्षति भएको बताए।

सुक्खा हिमपहिरो कति स्वाभाविक?

हिमनदी विज्ञ तथा काठमाण्डू विश्वविद्यालय वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा. रिजनभक्त कायस्थ आइतवारको हिमपहिरोलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँछन्।

उनले भने, “यस्तो मौसममा पहिले पनि यस्तै खाले हिमपहिरो गएका छन्। धेरै धनजनको क्षति पनि भएको छ। २५ वर्षजति अघि सगरमाथा क्षेत्रको गोक्योमा पनि हिमपहिरो जाँदा कयौँको ज्यान गएको थियो।”

“तर त्यसबेलाको र अहिलेकोमा के फरक छ भने त्यसबेला ठूलो हिमपात भएको थियो। अहिले भने ताजा हिमपातबाट होइन एक/डेढ महिनाअघिको हिमपातबाट हिमपहिरो गयो।”

कायस्थका अनुसार एक/डेढ महिनाअघि हिमपात हुँदा ठूलो मात्रामा जमेर बसेको हिउँ अहिले तापक्रम बढेपछि पग्लिन थालेको र त्यो हिउँको ठूलो थुप्रोको भित्र पसेर पानीका रूपमा बग्दा अहिलेको अवस्था आएको हो।

“त्यो पग्लेको पानी कुनै पनि माध्यमबाट बाहिर निस्कँदा दुईवटा सतह बनाइदिन्छ। त्यस्तो अवस्थामा माथिको ढिस्को एक्कासि ढल्दा यस्तो अवस्था भएजस्तो देखिन्छ।”

उनले अहिलेको अवस्था हेर्दा उक्त हिमपहिरो जलवायु परिवर्तनकै असरका कारण गएको जस्तो नदेखिएको बताए।

“अहिलेको सामान्य नै भन्नुपर्छ। यस्ता हिमपहिरो धेरै गइरहेका हुन्छन्। तर बस्ती नहुने भएकाले त्यति खबरमा आउँदैनन्,” उनले भने। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट