काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ जनयुद्ध गर्ने घोषणा गरेका छन् । अखिल नेपाल महिला संघको कर्णाली प्रदेशस्तरीय भेलामा बिहीवार बोल्दै प्रचण्डले बालुवाटारको बालुवा पेल्दा पेल्दै थाकेको भन्दै नयाँ जनयुद्धको थालनी गर्ने बताएका हुन् ।
‘नयाँ प्रकारको जनयुद्ध गर्नुपर्ने आवश्यकता देखेको छु मैले,’ सम्बोधनका क्रममा प्रचण्डले भने, ‘पुरानै प्रकारको जनयुद्ध होइन, हतियार लिएर होइन आवाज लिएर नयाँ प्रकारको जनयुद्ध गर्नुपर्यो ।’
उनले आफ्नै पार्टीको नेतृत्वको सरकारबाट प्रतिक्रान्ति भएको आरोप लगाए । ‘एकता गरियो, सरकार गठन गरियो, तीन वर्ष पुग्दा नपुग्दै हाम्रो आफ्नै सरकारले प्रतिक्रान्ति गर्ने देखियो । अदालतबाट नै एकताबद्ध भइसकेको पार्टीलाई विघटन गर्नेसम्मको फैसला भयो । यो प्रतिक्रान्तिका विरुद्धमा हाम्रो आवाज मुखरित हुन आवश्यक छ ।’
प्रचण्डले नयाँ जनयुद्धको शुरुवात गर्नुपर्ने आवश्यकता रहेको बताउँदै गर्दा प्रधानमन्त्री ओलीलाई नै दिएको समर्थन भने फिर्ता लिएका छैनन् ।
‘जनयुद्ध’ प्रचण्डको ध्वाँस मात्र हो !
राजनीतिक विश्लेषकहरूले प्रचण्ड कमजोर हुँदा ध्वाँस दिंदै हिंड्ने भनी आलोचना गरेका छन् । एक वामपन्थी विश्लेषकले सूत्रन्यूजसँग भने, ‘आफू कमजोर भएपछि युद्धको ध्वाँस दिने प्रचण्डको पुरानै बानी हो । राजनीतिक रूपले तल परिसकेका प्रचण्डले न सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छन्, न त उनले भनेजस्तै अर्को जनयुद्ध हुन्छ ।’
पहिलो जनयुद्धले प्रचण्डलाई सामन्ती बनाएको भन्दै ती राजनीतिक विश्लेषकले थपे – ‘अबको जनयुद्ध कसलाई धनी बनाउन गर्ने हो ? संसदीय खेलमा आइसकेपछि प्रचण्डले आफूले उठाएका सबै कुराहरू बिर्से, फेरि जनयुद्ध भनेर नेता तथा कार्यकर्तालाई उक्साउन खोज्दैछन् ।’
यो पनि
राजनीतिमा प्रचण्डको घट्दो ‘क्रेज’ : ओलीले टेर्दैनन्, कांग्रेस र जसपाले पत्याउँदैन
दुई पटक प्रधानमन्त्रीसमेत भइसकेका प्रचण्डले दुईपटक ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गरेका थिए । संविधान बनेलगत्तै प्रचण्डले ओलीलाई समर्थन गरेका थिए । त्यतिबेला पनि ओलीले प्रतिक्रान्ति गर्न खोजेको भन्दै ९ महिनामै सरकारबाट विश्वासको मत फिर्ता लिएर कांग्रेससँग गठबन्धन गरेका थिए ।
प्रचण्डले पहिलो गल्तीबाट पाठ सिक्न नसकेको माओवादी केन्द्रकै नेताहरू बताउँछन् । ‘त्यतिबेला ओलीसँग गरेको सम्झौता ओलीले पालना गरेनन र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था सिर्जना भएको थियो,’ माओवादी केन्द्रका एक प्रभावशाली नेताले भने, ‘पछिल्लो समयमा पनि प्रचण्डले चेतेनन् । उनले त्यही ओलीसँग गठबन्धन बनाए । अन्त्यमा यो हाल भयो ।’
न समर्थन दिन सक्ने न झिक्न सक्ने दोधारमा प्रचण्ड
प्रचण्डले बिहीवारको कार्यक्रममा भने – ‘अब काठमाडौँ जानुपर्ने छ, नयाँ गठबन्धनका विषयमा कुराकानी गर्नुपर्ने छ ।’ तर नयाँ सरकार बनाउन कांग्रेस र जनता समाजवादी पार्टीको प्रमुख भूमिका हुन्छ । प्रचण्डले नै रुकुममा आफूनिकट नेता कार्यकर्तासँग भनेका थिए, ‘कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुरले ओलीलाई काँधमा बोकेर हिंडेका छन् । यो अवस्थामा नयाँ विकल्प खोज्न पनि सहज छैन ।’
एक साता अघि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । त्यतिबेला प्रचण्ड कपिलवस्तु थिए । उनले त्यहींबाट उत्साहित हुँदै भनेका थिए – ‘अब नयाँ सरकार बन्ने बाटो खुलेको छ । नेपाली कांग्रेसलाई म धन्यवाद भन्न चाहन्छु । म भ्रमण छोट्याएर काठमाडौँ जाँदैछु र नयाँ सरकारका बारेमा छलफल गर्दैछु ।’
देउवाले भेट्न समय दिएनन्
पछिल्ला दिनहरूमा प्रचण्डमा एकरूपता देखिएको छैन । उनी कहिले उत्साहित हुने गर्छन् भने कहिले तत्कालै निराश ।
नयाँ सरकार बनाउने पहल गर्ने निर्णय गरेपनि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसका लागि पहल नगरेको भन्दै प्रचण्ड रिसाएका छन् । देउवाले प्रचण्डलाई भेट्नसमेत समय नदिएको स्रोत बताउँछ ।
‘प्रचण्डले सभापति देउवालाई भेट्न खोज्दै तारन्तार फोन गरिरहनु भएको छ,’ देउवानिकट स्रोतको दाबी छ, ‘तर सभापतिज्यूले समय दिन मान्नुभएको छैन । नयाँ विकल्पका लागि जसपा तयार नभएको भन्दै देउवाले प्रचण्डसँग भेट्न नमानेका हुन् ।’
महन्थ ठाकुर ओलीतिर, बाबुराम र उपेन्द्र प्रचण्डतिर
जसपाका अध्यक्ष महन्थ ठाकुर ओलीसँग निरन्तर सम्पर्कमा छन् । टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएका ठाकुरले आफ्ना माग पूरा भए ओलीलाई समर्थन दिने बताएका छन् ।
रेशम चौधरीलगायत अन्य कैदीबन्दीको रिहाइका लागि जसपा र सरकार दुवै पक्षले वार्ता टोली बनाइसकेका छन् ।
‘हाम्रो माग सरकारले मात्र पूरा गर्न सक्छ,’ सूत्रन्यूजसँगको अन्तर्वार्ताका क्रममा ठाकुरले भनेका थिए, ‘अहिलेसम्म धेरै तमसुक गरिए । अब त्यसलाई कार्यान्वयन गर्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गर्छु भनेको अवस्था छ । सत्ता समीकरणमा अहिलेसम्म हामी प्रवेश गरेका छैनौं ।’
यो पनि
निकटस्थलाई ओलीको ब्रिफिङ : संसद फेरि विघटन हुन्छ, चुनावको तयारीमा लाग्नुस् !
ठाकुर पक्षका अन्य नेताहरूले भने ओलीलाई समर्थन गर्ने र देशलाई अर्ली इलेक्सनमा लैजाने सहमति भइसकेको दाबी गर्छन् । एक अनलाइनलाई दिएको अन्तर्वार्तामा जसपाका नेता उमाकान्त झाले भनेका छन् – ‘हाम्रो माग अहिलेको अवस्थामा ओलीले मात्र पूरा गर्न सक्नुहुन्छ । माग पूरा भएको अवस्थामा हाम्रो साथ र समर्थन रहन्छ ।’
तर संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का नेता उपेन्द्र यादवले भने ओलीलाई प्रतिगामी करार गरेका छन् ।
‘प्रतिगमनकारी ओलीसँग हाम्रो सहकार्य हुनै सक्दैन,’ डा. भट्टराईले बीबीसी नेपालीलाई दिएको अन्तर्वार्ताका क्रममा भने, ‘ओलीले प्रतिगामी हर्कत गरेका छन् र हामीले उनलाई कुनै पनि हालतमा साथ दिन सक्दैनौं ।’