काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाउने भन्दै छलफलमा जुटेका तीन प्रतिपक्षी दलहरू शुक्रवार विनानिष्कर्ष लाखापाखा लागेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने औपचारिक प्रस्ताव गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै समर्थन गरे भने जसपाका महन्थ ठाकुरले आफूहरूलाई निर्णय लिन केही समय चाहिने बताएपछि छलफलको औचित्य समाप्त भएको थियो ।
देउवानिवास बुढानीलकण्ठमा माओवादी केन्द्र र जसपाका नेताहरू भेला भएका थिए । तीन दलका शीर्ष नेताहरूको छलफलमा पनि कुनै निष्कर्ष निस्किएन । जनता समाजवादी पार्टीका नेताहरूले आफूलाई समय दिन आग्रह गरे । त्यसपछि तीन दलका नेताहरूको छलफल अनिश्चित समयका लागि स्थगित भएको छ ।
माओवादी, कांग्रेस र जसपाका नेताहरूबीच शुक्रवार भएको छलफलमा कुनै कुरा मिल्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा फँसेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीवार सुर्खेतमा अब छिट्टै नयाँ सरकार गठनको प्रक्रिया शुरू हुने भन्दै आफ्नो भ्रमण छोट्याएर काठमाडौँ आएका थिए । तर उनले चाहेजस्तो हुन सकेको छैन ।
आजको छलफलमा देउवाले जसपा र माओवादी केन्द्रसँग औपचारिक प्रस्ताव भने राखे । ‘ओली सर्वसत्तावादतिर गइरहेका छन्, उनको नेतृत्वको लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसैले हामी हाम्रो नेतृत्वमा सरकार बनाउन चाहेका छौं, तपाईंहरूको धारणा के छ ?’
यो पनि
राजनीतिमा प्रचण्डको घट्दो ‘क्रेज’ : ओलीले टेर्दैनन्, कांग्रेस र जसपाले पत्याउँदैन
जवाफमा प्रचण्डले हामी तयार छौं भनेका थिए भने जसपाका महन्थ ठाकुरले निर्णय गर्न समय चाहिने बताए ।
‘हाम्रा माग पूरा गर्ने प्रक्रियामा प्रधानमन्त्री हुनुहुन्छ,’ ठाकुरको भनाइ उदृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘त्यसैले यसबारेमा निर्णय गर्न केही समय चाहिन्छ ।‘
ठाकुरको यस्तो भनाइ आएपछि प्रचण्ड फायर भए । ‘ओली मधेशविरोधी हो भन्ने तपाईंहरूलाई थाहा नभएको होइन, तर पनि तपाईंहरू किन उतैतिर गइरहनुभएको छ, मैले बुझ्न सकेको छैन । पूरा हुनसक्ने मागहरू त
नयाँ बन्ने सरकारले पनि पूरा गर्न सक्छ । संविधान संशोधनको प्रस्ताव फेल गराउने त्यही ओली होइन ?’
त्यसपछि देउवाले भने, ‘महन्थजीको कुरा ठीकै हो । ओलीले उहाँहरूको माग पूरा गरिदिन्छन् भने के भो त, गरिदिउन् ।‘
देउवाको आडभरोसा पाएपछि ठाकुरले भने, ‘दुईतिहाइ पुर्याउनकै लागि हामीले तपाईंकै दल (नेकपा)को सरकारमा सामेल पनि भएका थियौं, समर्थन पनि गरेका थियौं । तपाईंले कुनै पनि बेला संविधान संशोधनको गृहकार्य पार्टीबाट गराउन सक्नु भयो त ? लिखितमा धेरै भएको छ । हामी अब हाताहाती माग पूरा गर्न चाहन्छौं । संविधान संशोधनका लागि दुईतिहाइ चाहिन्छ, ओली सहमत भए भने तपाईंहामी सँगै छौं नि त !’
छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने – ‘जसपाका नेताहरूले केही समय चाहिन्छ भन्नुभएको छ । पार्टीमा छलफल गर्न केही समय माग गरेपछि अर्को बैठक बस्ने गरी आजको छलफल टुंगिएको छ ।‘
यो पनि
निकटस्थलाई ओलीको ब्रिफिङ : संसद फेरि विघटन हुन्छ, चुनावको तयारीमा लाग्नुस् !
उनले अब छिटै छलफलको मिति तय गरिने जानकारी दिए । ‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन छिटै फिर्ता लिन्छ र नयाँ सरकार गठनको टुंगो लाग्छ,’ श्रेष्ठले भने ।
जसपाले निर्णय गरेपछि नयाँ गठबन्धनबारे प्रक्रिया सुरू हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ सहभागी थिए भने, जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए ।
बुढानीलकण्ठमा आज भएको छलफलअघि कांग्रेसका शेरबहादुर देउवाले ‘ओलीको लात’को प्रसंग निकालेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओलीले लात हानेपछि ठीक्क परेको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
राजधानीमा आयोजित निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा देउवाले ओलीको लात खाएर प्रचण्डलाई ठीक्क भएको भन्दै अराजनीतिक अभिव्यक्ति दिए ।
‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको हो, तपाईंहरूलाई थाहा छ नि !’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे । ओलीले अहिले लात हानेपछि ठीक भएको छ ।’
देउवाले २०७४ सालको स्थानीय निकाय चुनावमा प्रचण्डले आफूसँग गठबन्धन गरेको तर प्रादेशिक र संघीय निर्वाचनमा ओलीसँग गठबन्धन गरेर आफूलाई धोका दिएको प्रसंग निकालेका हुन् । प्रचण्डमाथि तिखो कटाक्ष गरेर देउवाले ओलीको विकल्पमा माओवादीसँग मिलेर गठबन्धन सरकार बनाउन नसकिने संकेत दिएका छन् ।
देउवाको त्यो अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका एक प्रभावशाली नेताले सूत्रन्यूजसँग भने – ‘ओलीको लात खाएर प्रचण्डलाई ठीक्क भएको हो भने शेरबहादुरलाई दिक्क भएको छ । ओलीले त देउवालाई ब्ल्याकमेल गरिरहेका छन् । संवैधानिक नियुक्ति, भ्रष्टाचार काण्ड, राजदूत, लगायतका धेरै कुरामा ओलीले देउवालाई दिक्क बनाइसकेका छन् । अब देउवा पनि ब्युँझनु पर्छ ।‘
भिडियो पनि हेर्नुस